२०८२ साउन १३ मंगलबार
Jhapa Today
Adv top

झापामा एकैदिन पाँच सडक दुर्घटना, सातजना घाइते


बिर्तामोड, साउन १३ । झापाका विभिन्न स्थानमा एकैदिन भएका अलगअलग पाँचवटा सडक दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । सबै दुर्घटना हिजो साँझ मोटरसाइकलमा भएका हुन् ।

दमक–३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट फुटानीचोकतर्फ जाँदै गरेको मे.११ प १२४ नम्बरको स्कुटरले कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक इलाम चुलाचुली-५ घर भई हाल दमक ५ बस्ने १७ वर्षीया सम्प्रदा लिम्बू, स्कुटरमा पछाडि रहेकी चुलाचुली-५ घर भई हाल दमक-१ बस्ने १८ वर्षीया टिका राई घाइते भएका छन् । दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

त्यस्तै, मेचीनगर–१० त्रिफला पुस्तकालयको भित्री सडकखण्डमा नेम्वाङ पेट्रोल पम्पबाट फुटसलतर्फ जाँदै गरेको प्र.१–०१–०१६ प ३५०८ र विपरीत दिशाबाट आउँदै गरेको मे.८प ४८८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा प्र.१–०१–०१६ प ३५०८ नम्बरको मोटरसाइकलको पछाडि बसेकी २५ वर्षीया झर्ना राजवंशी घाइते भई आम्दा अस्पताल धुलाबारीमा उपचारपश्चात डिस्चार्ज गरिएको छ ।

त्यस्तै, मे.८ प ४८८ नम्बरको मोटरसाइकल बुद्धशान्ति–४ सिर्जना बस्ती बस्ने ३० वर्षीय कुमार तिम्सिना पनि घाइते भएका छन् । उनको शिखर अस्पताल धुलाबारीमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्जुनधारा-८ पेट्रोल पम्पस्थित बिर्तामोड–शनिश्चरे सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ४ प ६६१० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको मे. २ प २४६८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको छ ।

दुर्घटनामा मे. २ प २४६८ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा-६ बस्ने ३२ वर्षीय गणेश दनुवार, सोही मोटरसाइकलमा पछाडि रहेका ३४ वर्षीय विनोद लिम्बू घाइते भएका छन् ।

त्यस्तै, मे. ४ प ६६१० नम्बरको मोटरसाइकल चालक अर्जुनधारा-६ बस्ने २२ वर्षीय विवेक शाह पनि घाइते भएका छन् । घाइते तीनैजनाको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer