बिर्तामोड, साउन १३ । झापाको बिर्तामोडमा आपसी विवाद हुँदा मार्बलले हानेर एकजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बिर्तामोड ४ बस्ने ३२ वर्षीय बिकी साह रहेका छन् । उनको बायाँ कुममा चोट लागेको छ । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।

हिजो राति ८ः५५ बजे बिर्तामोड-१ स्थित राजगढ स्ट्यान्डमा साहलाई बिर्तामोड-४ का २८ वर्षीय टेकन भण्डारी र वडा नम्बर ५ का २८ वर्षीय रोहन भुसालले मार्बल फुटाएर प्रहार गरेका थिए ।


उनीहरुबीच आपसी विवादमा झगडा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसक्रममा साहलाई भण्डारी र भुसालले मार्बल प्रहार गरेका हुन् ।

कुटपिटमा संलग्न दुबैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । कुटपिटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
