२०८२ साउन १३ मंगलबार
Jhapa Today
Adv top

भद्रपुरमा हात्तीको उपद्रो, चारवटा घरमा क्षति


बिर्तामोड, साउन १३ । झापाको भद्रपुरमा आएको चारवटा जंगली हात्तीले स्थानीय चार परिवारको घरमा क्षति पुर्‍याएको छ । हात्ती राति १ बजे आएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जंगली हात्तीले भद्रपुर-४ नमुना बस्तीमा घर भत्काउनुको साथै घरमा भण्डारण गरिएको अन्नबाली खाएको छ ।

हात्तीले स्थानीय टेकनाथ पराजुलीको टिनको छानो, सिमेन्टको ब्लक भएको भन्साघर भत्काएको छ । अन्दाजी २० मन मकै खाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रेमलाल भण्डारीको टिनको छानो भएको भुइँतल्ले कच्ची घरको झ्याल फुटाएर एक बोरा चामल खाएको छ । रिता विकको टिनको छानो, काठको बेरा भएको एकतल्ले कच्ची घरको बरण्डा भत्काएर एक बोरा मकै खाएको छ ।

त्यस्तै, हात्तीले करेलाचोक बस्ने जीतबहादुर लिम्बूको टिनको छानो भएको कच्ची घरको भन्सा कोठाको वाल भत्काएको छ ।, पाँचवटा सुपारीको बोट, १० वटा केराको बोट खाएको छ ।

Adv footer