२०८२ चैत्र २४ मंगलबार
Jhapa Today
Adv top

झापा इनर्जीको आईपीओ बिक्री खुला


बिर्तामोड, साउन १४। झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं.४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Adv footer