
बिर्तामोड, साउन १४ । प्रहरीले ठगी सम्बन्धी मुद्दाकी झापा बिर्तामोडकी एकजना महिलालाई पक्राउ गरेको छ । एकजना छिमेकी महिलाको रकम लिएर भागेकी ती महिलालाई हिजो पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड-५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) रहेकी छन् । उनलाई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्भान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादेनले ४५ लाख ३३ हजार ७५० रुपैयाँ रकम ठगेर भागिरहेको र उजुरीको आधारमा उनको खोजी गरेर धुलिखेलबाट पक्राउ गरिएको हो ।


मादेनविरुद्ध बिर्तामोड-५ की बोलीकुमारी नेम्वाङले ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप भई उनीमाथि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रहरीले मादेनले सो रकम नगद नै सापटी लिएको हो वा अन्य कारोबारको रकम हो भन्नेबारे पनि अनुसन्धान गरिरहेका छ । आर्थिक ठगीका घटनाबारे अन्य जाहेरी पनि रहेको जनाइएको छ ।
