
बिर्तामोड, साउन १६ । सीमावर्ती क्षेत्रमा उपचारको नाममा भ्रम छर्दै आएका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पायल्सको उपचार गर्ने भन्दै आफूलाई ‘डाक्टर’ बताउने पुने मोडल कोलोनीका प्रभात चौधरी नाम गरेका व्यक्तिलाई बिर्तामोड प्रहरीले अतिथि सदनपछाडि रहेको बालाजी फर्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

पायल्ससँगै आयुर्वेदिक उपचारका लागि आफूलाई डाक्टर भनेर आउने चौधरीलाई बिर्तामोडको बालाजी फर्मा एन्ड क्लिनिकबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


भारतबाट डाक्टर वा स्वास्थ्यकर्मीहरुले नेपालमा अनाधिकृत रुपमा काम गर्न नमिल्ने भन्दै प्रहरीमा सूचना पुगेको थियो । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीलाई सूचना गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

आफूलाई डाक्टर भन्ने चौधरीले पायल्सको उपचार गर्ने भन्दै सो प्रकृतिका बिरामीहरुलाई बालाजी फर्माको पछाडि एउटा कोठामा भेट्ने गरेको बुझिएको छ ।

केही महिनाअघिसम्म मनकामना क्लिनिकमा काम गर्ने चौधरी बालाजीमा काम गर्न थालेको सूचना प्रहरीसम्म पुगेको थियो ।
बालाजीका आकाश गोयलले आफ्नो फर्माबाट औषधि लैजाने गरेको स्वीकार गरेका छन् ।

उनले चौधरी डाक्टर भएको पनि दाबी गरे । पानीट्यांकीस्थित बालाजी आयुर्वेद पायल्स क्लिनिकबाट बिर्तामोडमा आएर चौधरी उपचारको काममा लागेको बुझिएको छ ।
अन्य देशका डाक्टर नेपालमा आएर काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिनुपर्ने व्यवस्था रहेको छ । चौधरीले पायल्सका नाममा प्रयोग गर्ने औषधिहरु समेत घातक रसायनिक पदार्थ रहेको बुझिएको छ ।