
बिर्तामोड, साउन १७ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

झापामा हिजो राति १० बजेदेखि नै हल्का वर्षा भएको छ । आज बिहानदेखि झापालगायत पूर्वी नेपालमा वर्षा भइरहेको छ । लगातार पानी पर्दा मौसम शितल भएको छ । धानकृषक खुसी भएका छन् ।

मौमस पूर्वानुमान महाशाखाका मौसमविद बिनु महर्जनले दिएको जानकारीअनुसार अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ नजिकिने क्रममा छ ।


‘त्यसले आजदेखि कम्तीमा तीन दिन मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना छ’, शनिबार बिहान उनले भनिन्, ‘यसपटक मधेस तथा तराईमा पनि पानी राम्रै पर्ने अनुमान छ ।’

यसैबीच, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।