
बिर्तामोड, साउन १७ । झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो ।

एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहनेछन् । त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक एमडी कन्सल्टेन्सी रहेको लामाले बताए ।


प्रतियोगिताको विजेता विद्यालयले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउँदा तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार पाउनेछन् । त्यस्तै, व्यक्तिगत पदक पाउने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यही साउन २४ गते हुने च्याम्पियनसिपमा भारतका १५ विद्यालयसहित ५० वटा विद्यालयको सहभागिता टुंगो लागेको अध्यक्ष लामाले जानकारी दिए ।

लामाका अनुसार छात्रछात्रा दुई विधामा २० केजीदेखि ५५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । विद्यालयस्तरमै कराते खेललाई प्रोत्सहान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनका बीच वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले प्रथम, दोस्रो र तेस्रो हुनेले पाउने ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा स्वागत एकेडेमीका उपाध्यक्ष बद्री विष्टले गरेका थिए भने सञ्चालन सचिव विशाल घिसिङ तामाङले गरेका थिए ।