
बिर्तामोड, साउन १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
विभागले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम स्तरको वर्षा मापन गरिएको छ ।
विशेषगरी, पूर्वी नेपालका केही क्षेत्रमा भने भारी वर्षा भएको छ । विभागका अनुसार गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ ।
भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    