
बिर्तामोड, साउन १८ । प्रहरीले झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको अवैध काठ र ट्रयाक्टर जिल्ला वन कार्यालय झापामा बुझाएको जनाएको छ । इलामबाट झापा ल्याइँदै गरेको काठ प्रहरीले सायन १६ गते साँझ नियन्त्रणमा लिएको थियो ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ८ का ४४ वर्षीय रञ्जीत राजवंशीसहित अवैध काठ र ट्रयाक्टर थप कारबाहीका लागि वनसमक्ष बुझाइएको हो ।

काठधनी राजवंशी नै हुन् वा उनी चालक मात्र हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन । राजवंशीले इलामको रोङबाट गोलिया हालेर ल्याउँदै गर्दा बुद्धशान्ति गाउँपालिका–६ गौँडाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।


इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले काठ लोड भएको प्रदेश १–०१–००१ त ८५६० नम्बरको ट्रयाक्टरमा जाँच गर्दा चिलाउने र सिमल जातको गोलिया लोड गरेको भेटिएको थियो ।

चालक राजवंशीलाई आवश्यक कागजपत्र माग्दा उपलब्ध गराउन नसकेपछि गोलिया लोड भएको ट्रयाक्टरसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
