२०८२ साउन २० मंगलबार
Jhapa Today
Adv top

कागतीले बजार नपाउँदा झापाका किसान मारमा


बिर्तामोड, साउन २० । कागतीको बोटले मनग्य उत्पादन दिए पनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि झापाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको गौरादहका किसान नविन आचार्यले बताए । “ठुलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,” उनले भने, “बजार लग्यो बिक्री हुँदैन ।”

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर, उत्पादन बढेसँगै त्यसको बजार सुुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउँछन् ।

न्यूनतम समर्थन मूल्य तोकेरे बिक्री नभएका कागती स्थानीय तहहरुले किनिदिने व्यवस्था हुन सके किसानहरुमा उत्साह थपिने उनको सुझाव छ ।

विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गर्दै आउनुभएका विर्तामोड नगरपालिका–६ का कमलराज बिमलीले भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले यहाँको बजारलाई खर्लप्पै खाएको बताए ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरु निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताए ।

झापामा ३१० हेक्टर क्षेत्रफलमा कागतीखेती हुँदै आएकामा हाल खेती घटेर २७० हेक्टरमा झरेको छ । कागतीखेतीका लागि झापा उर्वरभूमि रहेको जनाउँदै उनले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताए ।

झापाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायतका स्थानीय तहमा किसानले घरैपिच्छे कागतीखेती गरेका छन् भने ठुलो क्षेत्रफलमा खेती गर्नेहरु बढेका छन् । खेती विस्तारसँगै बजारीकरणको सकस बढ्दै गएको छ ।

सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

Adv footer