
बिर्तामोड, साउन २० । सोमबार सार्वजनिक १२ कक्षाको नतिजअनुसार कोशी प्रदेशमा ५९.८१ प्रतिशत ग्रेडेड र ४०.१९ प्रतिशत ननग्रेडेड भएका छन् ।


६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ जना ग्रेडेड र २४ हजार ९७९ ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा देशभरबाट भने ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको भन्दा ९ प्रतिशतले बढी हो । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।


बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

४ जिपिए कसैको आएन
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष कसैले पनि ४ जिपिए ल्याएका छैनन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जिपिए ३.९६ सम्म मात्र ल्याएका छन् ।
बोर्डले सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जिपिए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जिपिए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जिपिए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जिपिए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जिपिए ल्याउने विद्यार्थी २३ जना छन् ।