दमक, साउन २१ । तीव्र गतिमा रहेको मोटरसाइकलले पानी परिरहेको बेला सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ । घटना झापाको गौरादहको हो ।

प्रहरीका अनुसार गौरादह-२ ताजपुरिया टोलमा हिजो राति ८ः३० बजे प्रदेश १–०१–०१३ प ६६६९ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई ठक्कर दिएको थियो ।

गौरादह गौरीगञ्ज सडकखण्डमा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुईजना पैदलयात्री र मोटरसाइकलमा रहेका दुईजना घाइते भएका हुन् ।

पैदलयात्रीहरु बारा सिमरनगर नगरपालिका वडा नम्बर-७ घर भई हाल गौरादह-२ बस्ने २२ वर्षीय निरञ्जन राम र लम्जुङ सुन्दरबजार गाउँपालिका-१ घर भई हाल गौरादह-२ बस्ने २२ वर्षीय रोहित विश्वकर्मा घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकल चालक कमल गाउँपालिका-६ बस्ने ५२ वर्षीय पञ्चलाल राजवंशी र सोही मोटरसाइकलमा पछाडि बसेका गौरादह-२ बस्ने ५८ वर्षीय यादव राजवंशी घाइते भएका छन् ।
घाइते दुईजनाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ । पञ्चलाल र निरञ्जनलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।