
बिर्तामोड, साउन २१ । प्रहरीले बिर्तामोडका एकजना र अर्जुनधाराका तीनजना युवालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । उनीहरु काँकरभिट्टा र अर्जुनधाराबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ का २४ वर्षीय अविनाश चौधरी छन् । उनी हिजो राति ९ बजे मेचीनगर-६ काँकरभिट्टा बसपार्कबाट पक्राउ परेका हुन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका चौधरीलाई शंका लागेर जाँच गर्दा उनले बोकेको कालो रंगको पोकाभित्र लुकाएर ल्याएको ६१० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । उनीबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसैबीच, प्रहरुीले अर्जुनधाराका तीनजना युवालाई अर्जुनधारा ७ मिलडाँडाबाट ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरु हिजो दिउँसो १२ः३० बजे पक्राउ परेका हुन् ।
अर्जुनधारा-७ मिलडाँडामा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहलाई
प्रहरी चौकी शनिश्चरले केही नगद र ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा-३ का १८ वर्षीय जीवन चौलागाईं, वडा नम्बर-४ का २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी र वडा नम्बर-७ का ३२ वर्षीय विजय मगर रहेका छन् ।
उनीहरुको साथबाट ४०० मिलिग्राम ब्राउन सुगर, नगद १५ हजार ९२० र दुईवटा मोबाइल बरामद भएको छ । तीनैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।