२०८२ साउन २१ बुधबार
Jhapa Today
Adv top

तीन वर्षपछि फेरि फैलियो लम्पी स्किन, झापा बढी प्रभावित


बिर्तामोड, साउन २१ । झापामा ती वर्षअघि २०७९ फागुनदेखि २०८० साउनसम्म लम्पी स्किन रोगले २ हजार ८४ वटा गाई, गोरु तथा राँगा भैँसी (पशुचौपाया) मरेका थिए । झन्डै एक लाख पशुचौपाया प्रभावित बनेका थिए ।

तीन वर्षपछि फेरि यो रोगको प्रकोप फैलिएको छ । झापामा हालसम्म ४१० वटा पशुचौपाया मरिसकेका छन् भने १४ हजार ६९२ वटा बिरामी भएको कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

प्रकोप फेरि आउन नदिन आर्थिक वर्ष २०८०/८१ मा तीनै तहका सरकारहरूले लम्पी स्किनविरुद्ध खोप अभियान चलाएका थिए । खोप अभियान चलाएकै कारण गत वर्ष समस्या देखिएन ।

तर, यो वर्ष फेरि प्रकोप देखिएको छ । निर्देशनालयका अनुसार गत आइतबारसम्म झापासहित मोरङ, इलाम, सुनसरी जिल्ला बढी प्रभावित छन् ।

फाट्टफुट्ट ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुरमा देखिएको छ । तीन जिल्ला; संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु भने लम्पी स्किनबाट हालसम्म मुक्त छ ।

कोशी प्रदेशभर लम्पी स्किनका कारण ६३७ वटा पशुचौपाया मरिसकेका छन् भने २२ हजार १२२ प्रभावित छन् । सबैभन्दा बढी प्रभावित जिल्ला झापा हो ।

तीन वर्ष अगाडि प्रकोपको रूपमा आएको यो रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा पशुपालक किसानले पुनः क्षति बेहोर्नुपरेको हो ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दुई वर्षअघि खोप लगाएका पशुहरूमा यो रोग नदेखिएको र खोप लगाउन छुटेका पशुहरूमा संक्रमण देखिएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डक्टर गंगाराम यादवले समयमै खोप कार्यक्रम सञ्चालन नहुनु र रोगलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनु नै प्रकोप फैलिनुको मुख्य कारण भएको बताए ।

प्रदेशमा रोग नियन्त्रणका लागि खोप अभाव रहेको पनि उनले बताए । प्रदेशमा भएका पशु संख्याका आधारमा कम्तिमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेमा पशुसेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको उनले जानकारी दिए ।

तर, सरकारीस्तरमा खोप अभाव भए पनि किसान आफैँले किनेर गरेर लगाउन सक्ने अवस्था भने रहेको डक्टर यादव बताउँछन् । सरकारले प्रतिडोज २४ रुपैयाँमा खरिद गर्ने यो खोप बजारमा किसानले ५० देखि ६५ रुपैयाँसम्म तिर्नुपर्छ ।

यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । रोग लागिसकेका पशुलाई खोप लगाउँदा प्रभावकारी नहुने बरु उल्टै असर गर्ने विज्ञहरू बताउँछन् । यसका मुख्य लक्षणहरूः उच्च ज्वरो आउनु, शरीरमा कडा गिर्खाहरू देखिनु, दूध घट्नु र गर्भ तुहिनु आदि हुन् ।

डक्टर यादवले किसानहरूलाई आफ्नो गोठ सफा राख्न, नयाँ पशु ल्याउँदा क्वारेन्टाइनमा राख्न, झिंगा र लामखुट्टेबाट बचाउन र रोगको सिजन सुरु हुनुअघि नै (फागुन–चैतमा) खोप लगाउन सुझाव दिएका छन् ।

Adv footer