
बिर्तामोड, साउन २१ । झापाको झापा गाउँपालिकामा एकजना मानिसलाई रुखमा बाँधेर राख्दा मृत्यु भएपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहीका अनुसार पक्राउ पर्नेमा झापा-१ लसुनाका २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडु रहेका छन् ।

घटनाअनुसार हिजो राति १०ः३० बजे स्थानीय ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घरछेउको गल्लीमा आएर काम्न थालेका थिए ।

उनी काम्न थालेपछि टुडु लगायत स्थानीय व्यक्तिहरुले घरछेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए । तर, आज बिहान ४ बजे हेर्दा जतन सोरेनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये अनतलाल जतन सोरेनका छोरा हुन् भने अन्य तीनजना छिमेकी हुन् । उनीहरु चारैजनालाई जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको छ ।
अन्य केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजतलास भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ ।