
बिर्तामोड, साउन २१ । झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आन्तरिक कलह सतहमा आएको छ । १४ औँ जिल्ला अधिवेशनपछि संगठनभित्र मतभेद चुलिएको प्रस्ट देखिन थालेको छ ।

निर्वाचनको परिणामपछि नेतृत्व पंक्तिमा आएका र पराजित बनेका समूहबीच गहिरो असमझदारी कायम रहँदा संगठनको समग्र एकता र कार्यसम्पादनमा असर परेको देखिन्छ । प्याब्सन झापाको नेतृत्वका लागि सम्पन्न अधिवेशनमा अध्यक्ष पदमा छत्र कार्की १७६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने प्रतिस्पर्धी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए ।

निर्वाचनपछि नयाँ कार्यसमितिले पराजित समूहलाई बेवास्ता गरेको आरोपसँगै संगठनमा समानान्तर गतिविधि सुरु भएको दमक नगरका पूर्वअध्यक्ष जनार्दन मैनालीले बताए ।

पराजित भनिएको पक्षले झापा क्लस्टर प्याब्सनको ब्यानरमा विभिन्न पालिका र जिल्लास्तरीय कार्यक्रमहरू सञ्चालन गर्न थालेको छ । यी कार्यक्रमहरूमा जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई पटकपटक निमन्त्रणा गरिए पनि अनुपस्थित रहँदै आएका छन् ।

झापाको शिवसताक्षीमा आज भएको सामाजिक सुरक्षा कोष, कर तथा आन्तरिक लेखा व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा १५३ संस्थापक प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।
३०९ सदस्यीय विद्यालयमध्ये ४९.५१ प्रतिशतको यो सहभागिता आफैँमा महत्वपूर्ण बन्यो । विशेषतः यो कार्यक्रम संस्थागत हैसियतभन्दा पनि विषयवस्तुमाथि केन्द्रित भएर आयोजना गरिएको देखियो ।
कार्यक्रमको अध्यक्षता जनार्दन ढकालले गरे । उनले आयोजकको पहिचानभन्दा विषय र उद्देश्यमा ध्यान केन्द्रित गर्न आग्रह गरे । ढकाल पक्षका अर्का प्रतिनिधि जनार्दन मैनालीले शिक्षक सबैका साझा सम्पत्ति भएको उल्लेख गरे ।
प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले भने आफूसँग चुनाव हारेका साथीहरूलाई प्राज्ञिक सल्लाहकारका रूपमा समेट्ने प्रयास गरिएको दाबी गरेका छन् ।
साथै, उनले स्थानीय सरकारसँग समन्वय गर्दै विभिन्न पालिकामा कार्यक्रमको बजेट सुनिश्चित गर्न सफल भएको उल्लेख गरेका छन् ।
कार्कीका अनुसार, मेचीनगर, बिर्तामोड, कनकाई, बुद्धशान्ति, बारदशी र झापा गाउँपालिकाले कार्यक्रम दिएर त्यसका लागि बजेट सुरक्षित गरेको छ ।