२०८२ साउन २२ बिहीबार
Jhapa Today
Adv top

झापाका चारवटा चिया बगानमा श्रमिकको हड्ताल


बिर्तामोड, साउन २१ । झापाका चिया श्रमिकहरूले चारवटा चिया बगान बन्द गरेका छन् । आफ्ना विभिन्न मागहरु ३० दिने अल्टिमेटमभित्र पूरा नभएपछि श्रमिकहरूले भद्रपुरको गौरीशंकर , रिद्धिगणेश , सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् ।

गौरीशंकर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि उनीहरूले काम बन्द गरेका हुन् । जिल्लाका अन्य बगानहरूमा पनि क्रमशः हडताल गर्दै जाने नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताए ।

श्रम ऐन २०७४ को दफा ११६ ९ग०अनुसार उनीहरूले विभिन्न माग राखेका छन् । श्रम ऐन २०७४ को ११ अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने ,सबै श्रमिकलाई श्रम ऐन अनुसार उपदान, संचयकोष , चाडपर्व खर्च दिनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकृत गरिनुपर्ने माग चिया श्रमिकहरूले राखेका छन् ।

त्यस्तै, पत्ती डबलीको दर वृद्धि हुनुपर्ने, २०८० साल साउनको दुई महिनाको प्रत्येक दिनको रु ६५ छुटेको रकम भुक्तानी दिनुपर्ने, व्यवसायजन्य स्वास्थ्य सुरक्षा समिति गठन र सुरक्षा सामग्रीको व्यवस्था हुनुपर्ने, दैनिक काम गर्ने कार्य थलोमा बाटोघाटो सुरक्षित बनाउनुपर्ने माग राखेका छन् ।

त्यस्तै, दुई वर्षभन्दा बढी समय काम गरेकालाई नियमित श्रमिकको मान्यता हुनुपर्ने, ट्रेड युनियनसम्बन्धी सेमिनार गोष्ठीमा सहभागी हुँदा हाजिरी बिदा पाउनुपर्ने, सञ्चित रहेको घर बिदा, बिरामी बिदाको रकम नगद भुक्तानी दिनुपर्नेलगायतका माग चिया श्रमिकहरूले राखेका छन् ।

चिया श्रमिकहरूले आफ्ना माग बगान सञ्चालकसमक्ष राख्दै आएका छन् । तर, रोजगारदाताले २१ दिनसम्म वार्तामा नबोलाएको केन्द्रीय अध्यक्ष राईले बताए ।

दफा ११८ बमोजिम श्रम कार्यालयमा उजुरी गरेपछि श्रम कार्यालयले दुई पटक वार्ता बोलाएको थियो । तर वार्तामा सबै बगानले आधिकारिक प्रतिनिधि पठाएनन् भने कसैको आएर पनि कुनै सहमति हुन सकेन ।

दफा १२१ अनुसार ३० दिनको अल्टिमेटम दिँदा समेत अटेर गरेपछि बाध्य भएर हडतालमा उत्रिनु परेको केन्द्रीय अध्यक्ष राईको भनाई छ । गौरीशंकरमा ७०, रिद्धिगणेशमा २५ , सूर्यमा ७० र नाज टी इस्टेटमा ६५ जना श्रमिक कार्यरत छन् ।

Adv footer