
बिर्तामोड, साउन २२ । प्रहरीको दुई फरकफरक टोलीले झापाको कमलबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा एकजना औषधि व्यवसायी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल-६ काँटाचोकका विष्णुप्रसाद बगाले र दमक-६ थानारोड बस्ने ४० वर्षीय गंगाबहादुर खड्का रहेका छन् ।

खड्का दमकमा रहेको दमक मेडिकल डिस्ट्रिब्युटरका सञ्चालक रहेका लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले जनाएको छ । ब्युरो र दमक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई हिजो राति ९ बजे कमल-६ काँटाचोकमा बगालेको घरमा विशेष सूचनाको आधारमा प्रहरीले तलासी लिएको थियो । तलासीका क्रममा प्रतिबन्धित औषधिहरु फेला परेको थियो ।

बगालेको घरबाट प्रहरीले ट्रामोल ५० लेखिएको तीन हजार क्याप्सुल, डाइसाइक्लोमाइन दुई हजार ११० ट्याब्लेटर स्पास्पेन दुई हजार ५० ट्याब्लेट बरामद गरेको छ ।
पक्राउ परेका बगाले र खड्कालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।