२०८२ साउन २२ बिहीबार
Jhapa Today
Adv top

कनकाईमा ग्यास ‘लिक’ भएर आगलागी हुँदा ८१ वर्षीया दाहाल गम्भीर घाइते


बिर्तामोड, साउन २२ । झापाको कनकाई नगरपालिकामा खाना पाकाउने ग्यास सिलिन्डर ‘लिक’ हुँदा आगलागी भएको छ । कनकाई-३ सुरुङ्गामा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ८१ वर्षीया बाटुलीमाया दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हो । उनी ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा भाडामा बस्दै आएकी थिइन् ।

आगलागीबाट ८१ वर्षीया दाहाल घाइते भएकी छन् । बिहान अन्दाजी ७ः१५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । उनको स्थायी घर ताप्लेजुङ रहेको बताइएको छ ।

आगलागीबाट उनको शरीरको विभिन्न भाग डढेको छ । उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचार गरेर थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

उक्त कोठामा आगलागी हुँदा कोठाभित्र रहेका दुईवटा बेड, एउटा काठको दराज, किचन र्‍याक, लताकपडा, अन्नपातलगायत अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्दाजी २ लाख रुपैयाँबराबरको क्षति भएको छ प्रहरीले जनाएको छ ।

Adv footer