२०८२ साउन २४ शनिबार
Jhapa Today
Adv top

अर्जुनधाराका गिरीले भ्रम फैलाएको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलको आपत्ति


बिर्तामोड, साउन २२ । झापा बिर्तामोडको पहिलो बाल अस्पताल बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा-५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ ।

आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो । तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी एकजना शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकमा भ्रम फैलाएको अस्पतालले जनाएको छ ।

घटनाअनुसार अर्जुनधारा-५ चाँदनी चोककी दिपा गिरीले साउन २ गते बिहान ४ बजेदेखि अचानक सुतिरहेको अवस्थामा नानीलाई छारेले भेटेपछि नजिकैको क्लिनिकमा लगेकी थिइन् । तर, त्यहाँबाट आइसियु भएको अस्पताल लैजान सुझाव दिएपछि उनी बिर्तामोड चिल्ड्रेन अस्पताल पुगेकी थिइन् ।

१७ दिनको उपचारपछि अस्पतालले शिशु अनुश्रीलाई डिस्चार्ज दिएको थियो । डिस्चार्ज गर्नु पाँच दिनअघिदेखि उनी हाँस्ने र उज्यालो भएपछि अस्पतालले घर लैजान भनेको हो ।

अस्पतालका अनुसार शिशुमा दुर्लभ र अनौठो सुपर रेफ्रेक्ट्री रेस्टटस एपिलेप्टिकस नाम रोग लागेको जनाएको छ । यो रोग विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई लाग्ने रोग हो ।

यो रोग छारे रोगजस्तै हुने र समयमै अस्पताल ल्याएकाले गिरीको उपचार सम्भव भएको अस्पतालले जनाएको छ । अस्पतालले घर लैजानुअघि शिशुका आमालाई सबै सल्लाह दिएर पठाएको भिडियो सुरक्षित रहेको छ ।

तर, घर लगेको दुई दिनपछि शिशुको हजुरबुवा रामबहादुरले अस्पताललाई लाञ्छना लगाउँदै धामीझाँक्रीमा लगेर नातिनी देखाएको बताउँदै अस्पतालले राम्रोसँग उपचार नगरेको आरोप लगाएका छन् ।

छारे रोगको औषधि नियमित एकै समयमा खानुपर्ने र नखाँदा बिरामीको अवस्था झन् जटिल बन्दै जाने चिकित्सकहरु बताउँछन् । तर, रामबहादुरले प्रशारण गरेको भिडियोमा शिशुलाई औषधि दिनुको सट्टा धामीझाँक्रीतर्फ लागेको बताएका छन् ।

बिरामीको अवस्था बिग्रदै गए पुनः अस्पतालमा ल्याउनुपर्नेमा हेल्चेक्र्याइँ गरिएको अस्पतालका प्रमुख नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले बताए ।

उपचार सफल भएपछि शिशुकी आमा गिरीले भनेकी थिइन्, यहाँ ल्याएपछि चिकित्सकको निगरानी र नर्सहरुको केयर देख्दा अब मेरो नानी ठिक हुन्छ भन्ने विश्वास लागेको थियो । आज त्यो विश्वास पूरा भएको छ । म ज्यादै खुसी छु ।’

यसैबीच, पत्रकार सम्मेलनमा अस्पतालकी अध्यक्ष लीला मैनालीले रामबहादुर गिरीले उपचार खर्चबापतको रकम मागेका बताइन् । उनले भिडियो प्रशारण गरेपछि शिशुको घरमा पुगेर अस्पताल भर्ना गर्न आग्रह गर्दा उल्टै रकम माग गरेको बताइन् ।

‘शिशुको टाउकोमा समस्या रहेको र उनको तत्काल इइजी गर्नुपर्ने र उक्त सुविधा बिर्तामोडमा नरहेको अस्पतालले गिरी परिवारलाई जानकारी गराएका थियो । इइजी गरेर ल्याएपछि मात्रै शिशुको डिस्चार्ज गर्न सकिने र उक्त अवधिमा औषधिको मात्रा मिलाउनुपर्ने भने पनि अभिभावकले शिशुलाई घर लैजाने र केही दिनमा भारत लैजाने भनेपछि अस्पताल प्रशासनले परिवारलाई सकुशल नानी जिम्मा लगाएको फोटो, भिडियो सबै सामग्री सुरक्षित छ’, अस्पतालले भनेको छ ।

Adv footer