२०८२ साउन २५ आइतबार
Jhapa Today
Adv top

कम उमेरमै जिम जानु ‘असुरक्षित’


बिर्तामोड, साउन २५ । अहिले धेरैजसो किशोर–किशोरीहरु फिट देखिनको लागि बाल्यकालदेखि नै जिम जान थालिरहेका छन्। सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइडियल’ हरुको प्रभावले धेरै युवायुवतीले कम उमेरमै शरीर बनाउने होड चलाएका छन्।

तर, विशेषज्ञहरूका अनुसार कम उमेरमै जिम जानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। विशेषगरी, अझै शरीर र हड्डीको विकासको प्रक्रिया पूर्ण नभइसकेका अवस्थामा ‘हेभी वर्कआउट’ गर्नुले दीर्घकालीन असर पार्न सक्छ।

हड्डीमा असर पुग्ने खतरा
किशोरावस्थामा शरीरको हड्डी अझै विकासको चरणमै हुन्छ। यस्तो अवस्थामा स्टेरोइडको प्रयोग या अत्यधिक वेट लिफ्टिंग गर्नुले हड्डीहरू कमजोर बनाउने खतरा रहन्छ। कहिलेकाँही हड्डी दुख्ने समस्या पनि देखिन्छ।

इन्जुरीको जोखिम
कम उमेरका बालबालिकाको शरीर अझै सन्तुलित र सुदृढ नभएकाले भारी एक्सरसाइज गर्दा घुँडामा चोट, मांसपेशी तानिने जस्ता इन्जुरी हुने सम्भावना बढी हुन्छ।

मांसपेशी कमजोर पार्न सक्छ
कम उमेरमा मांसपेशीको संरचना मजबुत नहुने हुँदा हेभी वर्कआउट गर्दा मसल पेन, मांसपेशी तानिने, थकान जस्ता समस्या देखिन्छन्। यसले दीर्घकालीन रूपमा मांसपेशी कमजोर बनाउँछ।

मुटुसम्बन्धी जोखिम
बाल्यकालमै अत्यधिक कार्डियो वा पावर लिफ्टिंग गरेमा धड्कन असामान्य हुनसक्छ। चिकित्सकका अनुसार, यस्ता अभ्यासले हार्ट ड्यामेज हुने खतरा पनि रहन्छ।

गलत पोश्चरको समस्या
जिममा प्रशिक्षकको बिना निगरानी वा सही मार्गदर्शनबिनै कसरत गर्दा शरीरको पोश्चर बिग्रने सम्भावना उच्च हुन्छ। यसले बिस्तारै ढाड, घाँटी र जोर्नीमा असर गर्न सक्छ।

विशेषज्ञको सुझाव
कम उमेरमा फिट रहनको लागि जिम जानु भन्दा पनि योग, दौड, स्ट्रेचिङ र सामान्य व्यायाम गर्न सुझाव दिइन्छ। यदि जिम जानैपर्ने हो भने अनुभवी प्रशिक्षकको निगरानीमा व्यायाम गर्नुपर्छ।

शरीर बनाउने चाहाना राम्रो कुरा हो, तर उमेर अनुसारको सन्तुलित व्यायाम र पोषण नै दीर्घकालीन स्वास्थ्यका लागि उपयुक्त विकल्प हो।

Adv footer