बिर्तामोड, साउन २७ । झापाको बुद्धशान्तिमा मोटरसाइकलले ठक्कर दिँदा दुईजना पैदलयात्री घाइते भएको प्रहरीले जनाएको छ । सो सडक दुर्घटना बुधबारे चोकमा भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा पैदलयात्री स्थानीय ७९ वर्षीय टेकबहादुर बस्नेत र मोटरसाइकल चालक बुद्धशान्ति-३ का ३० वर्षीय सुरज भुजेल घाइते भएका छन् ।

मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका–३ पेट्रोल पम्पअगाडि बुधबारेबाट चारआलीतर्फ आउँदै गरेको मे. ३ प २९९७ नम्बरको मोटरसाइकलले बस्नेतलाई ठक्कर दिएको थियो ।

घाइते दुवैजनालाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई यसअघि भगिरथा न्यौपाने अस्पताल बुद्धशान्तिमा सामान्य उपचार गरिएको थियो ।

झापामा पछिल्लो समय पैदलयात्रीहरु सडकमा असुरक्षित हुँदै गएका छन् । एक महिनामा १० जना पैदलयात्रीहरु सवारीसाधनको ठक्करबाट घाइते भएका छन् ।
