२०८२ साउन २७ मंगलबार
Jhapa Today
Adv top

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च


बिर्तामोड, साउन २७ । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेका अनुसार आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएकामध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन ।

तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने संख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने संख्या वृद्धि हुनुको मुख्य कारण भएको न्यौपानेको भनाइ छ ।

“निजी अस्पतालमा शल्यक्रियामार्फत नै प्रसूति धेरै हुने गरेको छ”, उनले भनिन्, “सरकारी अस्पतालमा अलि कम छ ।” विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार प्रसूति गराउने कुल संख्याको १० देखि १५ प्रतिशत शल्यक्रियामार्फत हुनुलाई सामान्य मानिन्छ ।

नर्सिङ अधिकृत न्यौपानेले भनिन्, “अहिले महिलाले स्वेच्छाले नै शल्यक्रियामार्फत प्रसूति गराउन चाहन्छन् ।” ‘नर्मल डेलिभरी’बाट जन्मिएको शिशु चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताइन् ।

“शल्यक्रिया गरेर निकालिएको शिशुलाई वातावरणमा घुलमिल हुन समय लाग्छ”, उनले भनिन् “शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ ।”

Adv footer