
बिर्तामोड, साउन २७ । झापा मेचीनगरको दुवागढीस्थित जडिबुटी एग्रो नर्सरी प्रालिलाई वन तथा वातावरण मन्त्रालयले निजी वनतर्फ राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

सामुदायिक वन दिवस–२०८२ को अवसर पारेर मन्त्रालयको वन तथा भूसंरक्षण विभागले काठमाडौँमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोहमा नेपालकै उत्कृष्ट निजी वनको रुपमा जडिबुटी एग्रोलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटी एग्रोका संस्थापक भरतकुमार बस्नेतलाई सम्मानपत्र प्रदान गरेका छन् ।

जडिबुटी एग्रोले अन्य मुलुकबाट भित्रिने इन्डोर प्लान्टलाई प्रतिस्थापन गर्दै नेपालको माटो र हावापानीमा उत्पादन गरिएका बिरुवालाई बजारसम्म पु¥याउँदै आएको छ ।

“प्रयास गरे बालुवामा पनि सुन फल्छ” भन्ने भनाइलाई जीवन्त बनाउँदै संस्थापक बस्नेतले १६ वर्षअघि बलौटे माटोमा सुरु गरेको अभियानले अहिले ६० बिघा जमिन हराभरा जंगलमा परिणत भएको छ ।

आफ्नै सिँचाइ प्रणाली र अथक मेहनतको बलमा उनले सयौँलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । हडिया खोलाको बगरलाई मलजल गरेर हरियालीमा परिणत गरेको संस्थापक बस्नेत बताउँछन् ।
दुवागढीमा ६० बिघा जग्गा लिजमा लिएर सञ्चालित निजी वनमा पामका विभिन्न प्रजाति, जेजे प्लान्ट, चाइना डल, प्रोटोन, समी, मसला, फिस टेल, खमारी, तेजपात लगायतका बोटबिरुवा छन् ।