
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा श्री राधा माधव भजनस्थलीको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको भव्य उत्सव हुने भएको छ ।

अग्रसेन भवनमा हुने उत्सव साउन ३१ गते हुने भजनस्थलीका अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्माचारीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

झापाको झापा गाउँपालिका-३ लालमोहरमा रहेको इस्कोनमा आस्था राख्ने संस्थाले बिहान ०७ः३० बजेदेखि मध्यरातिसम्म विभिन्न कार्यक्रम गर्ने जनाइएको छ ।

दर्शन आरती र गुरु पूजादेखि कृष्ण कथा, विश्व शान्ति महायज्ञ, हरे कृष्ण वृतचित्र, सांस्कृतिक कार्यक्तम, नाट्य प्रस्तुति, महाभिषेक, ५६ भोग अर्पण लगायतका कार्यक्रम हुनेछन् ।

करिब आठ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रममा पाँच हजार भक्तजनले प्रसाद ग्रहण गर्ने अनुमान गरिएको अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्माचारीले बताए ।

कार्यक्रममा झापाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला, भारतको बिहार, पश्चिम बंगालजस्ता स्थानबाट भक्तजन आउने अपेक्षा आयोजकले गरेको छ । उत्सवमा १० हजार भक्तजन उपस्थित हुने अनुमान छ ।
सनातन धर्मको रक्षा र प्रवर्धन, युवालाई सनातन संस्कृति र आध्यात्मिकतासँग जोड्न, कृष्णसेवामा लाग्न प्रेरित गर्नेलगायताका उद्देश्य राखेका कार्यक्रम आयोजना गर्न लागिएको हो ।
भोलिपल्ट भदौ १ गते बालाजी मन्दिरले आयोजना गर्ने रथयात्रामा समेत भजनस्थलीका प्रतिनिधिहरु सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।