बिर्तामोड, साउन ३१ । सुनसरीको रामधुनीस्थित क्षेत्रीय कारागार झुम्काबाट पर्खाल नाघेर भागेका एकजना कैदीलाई झापा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती कैदी साउन २८ गते भागेका थिए ।

जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका वडा नम्बर २ का २८ रुपक पौडेल खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पौडेल भागेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनलाई आज बिहान ६ बजे बिर्तामोडबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पौडललाई बिर्तामोड नगरपालिका वडा नम्बर १० विराटपोखरबाट पक्राउ गरेको बताएको छ । उनी त्यहाँ आफान्तको घरमा लुकेर बसिरहेको अवस्थामा भेटिएका थिए ।

पौडेललाई सुनसरी जिल्ला अदालतबाट जबरजस्ती कसूरमा १३ वर्ष कैद ५ लाख जरिवाना तोकिएको छ । त्यस्तै, ३० हजार रुपैयाँ क्षतिपूर्ति सजाय तोकिएको थियो । उनी सुनसरी कारागारमा सजाय भोगिरहेका थिए ।

पौडेलमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ताले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पौडेल मध्यरात कारागारको ब्लक बिबाट १६ फिट अग्लो वाल नाघेर भागेका थिए । कारागारभित्र मुढा बनाउने उद्योग छेउका बाँसका सामग्रीको सहारामा उनी भागेका थिए । भागेको तीन दिनपछि उनी पक्राउ परेका हुन् ।
कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहानको राति २ बजेतिर पौडेल फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए ।
सामुहिक बलात्कारको घटनामा संलग्न पौडललाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको र पछिल्लोपटक २०८१ चैत २५ गते जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।