
बिर्तामोड, साउन ३१ । झापामा मेचीनगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित दुईजनालाई सीमा क्षेत्र काँकरभिट्टाबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र सोही ठाउँ बस्ने २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् ।

आज दिउँसो ४ बजे मेचीनगर-६ पुरानो मेचीपुल अगाडिको सडकखण्डमा पानीट्यांकीबाट काँकरभिट्टातर्फ सिटी सफारीमा आइरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

रामहरि सिलवालले लगाएको ज्याकेटको टोपीभित्र प्लास्टिकको पोका पारेको उनीहरुले लागुऔषध ब्राउन सुगर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २८ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरुले भारतको पानीट्यांकीबाट ब्राउन सुगर खरिद गरेर ल्याएको बताएका थिए ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।