
बिर्तामोड, भदौ १ । प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो ।

च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । धरान ३३ स्वर्ण जित्दै च्याम्पियन बनेको हो । धरानकै अर्को टिम धरान कराते एकेडेमीले ३२ स्वर्ण जित्दै दोस्रो भयो । उसले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

तेस्रो स्थानमा सुनसरीकै दुलारी सितोरियो कराते एकेडेमी रह्यो । दुलारीले २७ स्वर्ण जितेर २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक धरान रंगशाला कराते एकेडेमीका किरण लामा घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक वज्र स्पोर्टस् एकेडेमीका अध्यक्ष तथा प्रतियोगिता संयोजक फुर्वा लामाका अनुसार एक दिने भनिए पनि खेलाडीहरूको ठुलो संख्यामा सहभागिता भएकाले प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो ।

झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा साउन २४ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबाट उद्घाटन भएको प्रतियोगिता साउन ३१ गते सम्पन्न भएको हो ।

विजेता खेलाडीलाई प्रदेशसभा सदस्य सबिना बजगाईं र गोपाल तामाङ, आयोजक वज्र स्पोर्टस् एकेडेमीका अध्यक्ष फुर्वा लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
करिब २५ लाख रुपैयाँ खर्च भएको प्रतियोगितामा नेपालका धरान, विराटनगर, बिर्तामोड लगायत विभिन्न स्थानका विद्यालय र भरतको दार्जिलिङ, सिलिगुडीसहितका स्थानका विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
विद्यालयस्तरमै कराते खेललाई प्रोत्साहन गर्ने उद्देश्यले सर्वाधिक पुरस्कार राशिसहित आयोजना गरिएको प्रतियोगितामा नेपालका ५० र भारतका २५ गरी ७५ वटा विद्यालय सहभागी थिए ।