२०८२ भदौ १ आइतबार
Jhapa Today
Adv top

कनकाई घाटमा बन्यो विद्युतीय शवदाह गृह


बिर्तामोड, भदौ १ । झापाको कनकाई–४ कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । दुई करोड ३० लाखको लागतमा कनकाई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह बनाइएको हो ।

कनकाई घाट व्यवस्थापन समितिका महासचिव एवम विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए ।

साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए । विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने गर्छ ।

विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख रुपैयाँ लगानी रहेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । ‘शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ’, उनले भने, ‘एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छन् । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छ भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।

Adv footer