
बिर्तामोड, भदौ १ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ का दिपराज राई र ‘मेरो डान्स युनिभर्स’ की अमृता राईलाई भोट अपिल गर्न बिर्तामोडमा प्रस्तुति राखिएको छ ।

दोस्रो सिजनका फाइनलिस्ट उाीहरु भारत सिक्किमका हुन् । बिर्तामोडको वानस्टप मलअगाडि भोलि भदौ २ गते सिक्किमका कलाकारहरुले राईद्वयको पक्षमा भोट अपिलका लागि प्रस्तुति दिने भएका हुन् ।

सिक्किमका कलाकारहरु पदम तामाङ, रक लामा, इन्स्टा मेन, सिक्किम गर्ल, दिपेश ट्वाइन्टीलगायतले भोलि दिउँसो ४ बजे आआफ्नो प्रस्तुति दिँदै भोट माग्ने कार्यक्रम तय गरिएको छ ।

गत सिजनको ‘मेरो भ्वाइस युनिर्भस’ को उपाधि सिक्किमका प्रितम राईले जितेका थिए । त्यस्तै, नृत्यतर्फ मेरो डान्स युनिभर्सको उपाधि थाइल्यान्डकी खुसी कार्कीले जितेकी थिइन् । सिक्किमकी मिग्मा डि लेप्चा सेकेन्ड रनरअप भएकी थिइन् ।

संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
