२०८२ भदौ २ सोमबार
Jhapa Today
Adv top

कुवेतमा विषाक्त मदिरा सेवनबाट झापाका राजवंशीको पनि मृत्यु


बिर्तामोड, भदौ २ । झापाको कचनकवलका एकजना युवाको समेत कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएको त्यहाँको नेपाली राजदूतावासले जनाएको छ । मदिरा सेवन गर्दा ११ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु भएकामध्ये एकजना झापाको कचनकवलका छन् । कचनकवल-७ का जात्रु राजवंशीका २९ वर्षीय छोरा रमेश राजवंशीको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हो ।

उनी निलकमल ह्युमन रिसोर्स प्रालिबाट तीन वर्षअघि कुवेत गएका थिए । इन्टरनेसनल फर जनरल ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा उनी क्लिनरको रुपमा काम गर्थे ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण त्यहाँ १६० जना प्रभावित भएका छन् । मेथनोल उद्योगमा प्रयोग हुने रसायन हो ।

कुवेताका विभिन्न अस्पतालमा अझै पनि ४० जनाको नेपाली श्रमिकको उपचार भइरहेको छ । कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ ।

Adv footer