
बिर्तामोड, भदौ ३ । झापा दमककी ३० वर्षीया शोभाकुमारी साहले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हिजो राति मृत्यु भएको हो ।

बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत साहले हिजो दिउँसो आफ्नै कोठामा शरीरमा आगो लगाएकी थिइन् । दमक अस्पतालमा सामान्य उपचारपछि उनलाई धरान लगिएको थियो । धरानमा चिकित्सक नभएपछि उनलाई फर्काएर बिएन्डसी अस्पताल भर्ना गरिएको थियो ।

हिजो दिउँसो ४ः३० बजे दमक–१ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती शोभाकुमारीले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर शरीरमा आगो लगाएकी थिइन् ।

छोरीसहित बेपत्ता भएकी शोभाकुमारीले करिब एक महिनापछि घर फर्किएर आत्मदाह गरेको खुल्न आएको छ । हिजै घर फर्किएर उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।

शोभा मनोजकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीको निधनपछि मनोजले भारतको मुजफ्फरपुरबाट शोभालाई बिहे गरेर ल्याएका थिए । उनीहरूबिच केही समयदेखि घरायसी विवाद थियो ।

गत असार ३२ गते बिहान करिब ९ बजे शोभा मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन् । मनोजले आमाछोरी बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए ।
आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी भारत सिलिगुडीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन् ।
शोभाले नै सुरभीलाई त्यहाँ छोडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो ।
छोरी फेला परेपछि मनोजले छोरीलाई लिएर आएका थिए । तर, शोभा भने त्यहाँ फेला परेकी थिइनन् । उनी हिजो मात्र घर फर्केकी थिइन् ।