
बिर्तामोड, भदौ ४ । विषाक्त मदिरा उत्पादन तथा सेवनपछि उपचाररत सबैलाई देश निकाला गर्ने कुवेत सरकारले जनाएको छ । त्यसपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध पनि लाग्नेछ ।

हाल विभिन्न अस्पतालमा उपचाररत अवस्थामा रहेका नेपालीसहित उनीहरूलाई निको भएपछि पक्राउ गरिने र आवश्यक अनुसन्धानपछि देश निकाला गरिने कुवेतको गृह मन्त्रालयले जनाएको छ ।

कुवेतको कानुनअनुसार मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ । विषाक्त मदिरा सेवनपछि २६ जना नेपाली पनि उपचाररत रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको कानुनअनुसार अब उनीहरू पनि उपचारपछि देश निकाला हुनेछन् ।

नेपालीहरूको हकमा आवश्यक सहायताका लागि नेपाली दूतावासले समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । घटनामा संलग्नलाई स्थानीय कानुनअनुसार सजाय हुने भएकाले नेपाल सरकारले यसमा कुनै पनि सहयोग गर्न सक्ने अवस्था नरहेको मन्त्रालयका एक अधिकारीले बताए । तर, आवश्यक पर्दा सकिने समन्वय र सहयोग दूतावासमार्फत गरिने मन्त्रालयले बताएको छ ।

पछिल्लो समय नेपालीहरू कुवेतमा लागुऔषध ओसारपसार र अवैध मदिरा उत्पादन तथा सेवनजस्ता गैरकानुनी गतिविधिमा संलग्न हुनेक्रम बढ्दो छ । कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत रहेको राजदुतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए ।

गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण कुवेतमा १२ नेपालीसहित विभिन्न मुलुकका २३ जनाले ज्यान गुमाएका थिए । १६० भन्दा बढी गम्भीर बिरामी परेका छन् ।
कुवेतमा मदिराको आयात र घरेलु उत्पादनमा प्रतिबन्ध छ । तर, त्यहाँ केही नेपालीसहित अन्य मुलुकका कामदारहरू मिलेर विषाक्त मदिरा उत्पादन गर्ने गरेको भेटिएपछि कुवेत सरकारले व्यापक खोजी अभियान थालेको कुवेतको सञ्चारमाध्यम कुवेत टाइम्समा उल्लेख छ ।