२०८२ भदौ ६ शुक्रबार
Jhapa Today
Adv top

सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ


बिर्तामोड, भदौ ६ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाएर अभद्र व्यवहार गर्ने दुईजना महिला पक्राउ परेका छन् ।

ऋण रकम संकलन तथा नवीकरण गर्न उनीहरुको घर पुगेका सहाराका कर्मचारीलाई मोरङ मिक्लाजुङ–२ का दुईजना महिलाले अभद्र व्यहार गरेर भागेका थिए । एक महिनाभन्दा बढी समयदेखि बेपत्ता भएका उनीहरु हिजो राति पक्राउ परेका हुन् ।

मोरङ मिक्लाजुङ-२ बस्ने दुर्गामाया लिम्बू र माया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अभद्र व्यवहारको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइए पनि उनीहरु फेला परेका थिएनन् ।

गत असार २९ गते दिउँसो करिब १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछानेलाई दुर्गामाया र मायाले दुव्र्यवहार गरेका थिए ।

कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाहरुले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए । साथै, सेवाकेन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाएर सामाजिक सञ्जालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए ।

Adv footer