
बिर्तामोड, भदौ ६ । उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उच्च अदालतको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटको दर्ता नम्बर ८०००८ रहेको छ । उच्च अदालतको फैसलाप्रति चित्त नबुझेपछि आफूहरु सर्वोच्चमा गएको बालिकाका एक आफन्तले जनाएका छन् ।

घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व नगरप्रमुख शिवाकोटीलाई धरौटीमा छोड्न गत बैशाख २५ गते उच्च अदालतले आदेश दिएको थियो । उच्च अदालत विराटनगरको इलाम इजलासले २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो ।

यसअघि गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि शिवाकोटी ५ महिनासम्म बिएन्डसी अस्पतालमै रहेका थिए । त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा थिए ।

पूर्वी सीमानाका काँकरभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले आफू बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर पटकपटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।
बुबाआमा नभएकी पीडितलाई घरको काम गरिदिएबापत पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।