२०८२ भदौ ६ शुक्रबार
Jhapa Today
Adv top

अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी


बिर्तामोड, भदौ ६ । नेपाल अलैँची व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । दुईजना व्यवसायी बिर्तामोडका हुन् भने एकजना फिदिमका व्यवसायी हुन् ।

महासंघको अधिवेशन यही भदौ १४ र १५ गते झापाको बिर्तामोडमा हुँदैछ । महासंघको अध्यक्षका लागि बिर्तामोडका नारायण चिमरिया र ओमकृष्ण बिमली तथा फिदिमका दिपक नेपाल आकांक्षी देखिएका हुन् ।

व्यवसायी चिमरिया हाल महासंघको महासचिव छन् । बिमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए । उनी गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी समेत हुन् । व्यवसायी नेपाल भने महासंघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यवसायी हुन् ।

अलैँची नेपालबाट सबैभन्दा बढी निर्यात हुने कृषि उपजमध्येको एक हो । नेपालबाट वार्षिक आठ अर्बको हाराहारीमा अलैँची भारत निर्यात हुने गरेको छ । अलैँची व्यवसायी महासंघका अधिकृत अनिल ढुङ्गानाका अनुसार पाँचौँ अधिवेशन तथा नवौँ साधारणसभा गर्न लागिएको हो ।

४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोड र १६ जिल्लामा शाखा रहेको छ । ढुङ्गानाका अनुसार २३० जना प्रतिनिधि रहने वैधानिक व्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् ।

भदौ १४ गतेका लागि साधारणसभा र १५ गतेका लागि निर्वाचन कार्यक्रम राखिएको छ । राजेन्द्र घिमिरे संस्थापक अध्यक्ष रहेको महासंघमा निर्मल भट्टराईले दुई कार्यकाल र राजकुमार कार्कीले नेतृत्व गरिसकेका छन् ।

२१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष एकजना, कृषि तथा वाणिज्य उपाध्यक्ष र महिला उपाध्यक्ष एकएकजना, महासचिव र सचिव रहने प्रावधान छ । सशस्त्र द्वन्द्वमा गाउँबाट खरिद गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन समस्या भएको बेला व्यवसायीले संघ बनाएका थिए ।

बिमली आफू नेपालबाट सबैभन्दा बढी आलैँची विदेश निर्यात गर्ने भएकाले आफ्नो दाबी पुग्ने बताएका छन् । उनी अघिल्लो अधिवेशनका प्रतिस्पर्धी पनि हुन् ।

नेपालले आफू संस्थापक उपाध्यक्ष भएको, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेको र उद्योग वाणिज्य संघमा आवद्ध हुँदा यसपटक आफ्नो दाबी पुग्ने बताएका छन् ।

चिमरियाले आफू संगठनका लागि अलैँची उत्पादन हुने सबै जिल्लामा पुगेको र नेपाल र बिमली उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्समा नेतृत्व गरिसकेकाले यसपटक आफू हुनुपर्ने दाबी गरे ।

Adv footer