
मेचीनगर, भदौ ७ । हरितालिका तीजको मौका जुराएर महिलाहरु नाचगान र दर खाने कार्यक्रममै व्यस्त भइरहँदा झापाको मेचीनगरमा भने फरक खालको कार्यक्रम गरेर तीज मनाइएको छ ।

धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले तीजको अवसरमा शिक्षिकहरुबीच फुटबल प्रतियोगिता आयोजना गरेको छ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको इस्ट होराइजनले शिक्षिकाहरुको दुई टिम बनाएर फुटबल खेलाएको हो ।

प्रतियोगिताअन्तर्गत कञ्चनजंघा टिम र अन्नपूर्ण टिमबीच प्रतिस्पर्धा भएको थियो । नतिजाअनुसार कञ्चनजंघाले अन्नपूर्णलाई टाइब्रेकरमा १-० गोल अन्तरले हरायो । जितसँगै उसले नगद १० हजार पनि प्राप्त गर्यो ।

यसअघि निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि नतिजाका लागि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो । कञ्चनजंघाको लागि खेलको १५ औँ मिनेटमा नमुना आङदेम्बेले गोल गरेकी थिइन् ।

तर, खेलको २२ औँ मिनेटमा अन्नपूर्णकी निशा धिमालले गोल फर्काउँदै बराबरीमा ल्याएकी थिइन् । टाइब्रेकरमा कञ्चनजंघाकी गरिमा लामिछानेको प्रहार मात्र गोलमा परिणत भएको थियो ।

विजेता तथा उपविजेता टिमलाई विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राई, प्रमुख प्रशासक सावित्रा शर्मा, शिक्षक प्रेम डाँगीलगायतले पुरस्कार वितरण गरेका थिए । उपविजेता अन्नपूर्णले दुई हजार ५०० रुपैयाँ पाएको थियो ।