
बिर्तामोड, भदौ १० । झापाको कनकाईस्थित बिरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारका चारजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरिङ पुलमा मे. १ च ३४४० नम्बरको मारुती भेन र मे. १ च ५४४६ नम्बरको बोलेरो पिकअप एकआपसमा ठक्कर खाएका हुन् । दुवै गाडी तीव्र गतिमा रहेको बताइएको छ ।

दुर्घटनामा मारुती भेन चालकको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषण गरेका थिए ।

मृतक चालक शिवसताक्षी-७ का २९ वर्षीय नवराज बाँस्कोटा रहेको प्रहरीले जनाएको छ । मृतकको साथमा रहेको पर्समा भेटिएको भोटरकार्डका आधारमा पहिचान खुलेको हो । त्यस्तै, शिवसताक्षी-७ का एकै परिवारका चारजना घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

घाइतेहरु ४० वर्षीय पृथ्वीनाथ साहको शरीरको विभिन्न भागमा चोट, उनकी श्रीमती ३७ वर्षीय पुनमदेवी साहको अनुहारमा चोट, छोरा १४ वर्षीय प्रसन्न साहको दाहिने खुट्टामा चोट, छोरी ९ वर्षीया प्रिन्सा साहको नाक र दाहिने खुट्टामा चोट लागेको छ ।

प्रहरीले मारुती भेन, पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी-८ बस्ने २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको छ । आज राति ०८ः४० बजेतिर दुर्घटना भएको हो ।
घटनास्थलमा प्रहरी र स्थानीयबासीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले अवरुद्ध रहेको सडक एकतर्फी खुलाएको छ । मारुती पश्चिम जाँदै थियो भने बोलेरो पूर्वतर्फ आउँदै थियो । दुवै गाडी तीव्र गतिमा रहेको अनुमान गरिएको छ ।