२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोडे जरिवाना नहुने


बिर्तामोड, भदौ ११ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने जनाएको छ । विभागले यसअघि गरेको निर्णयअनुसार असोज १ गतेदेखि नै सबै सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने स्पष्ट पारेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयनमा ल्याइने स्पष्ट पारेको भए पनि विभागले असोज १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाही नहुने उल्लेख गरेको छ ।

विभागले हिजो भदौ १० गते विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेको हो ।

विभागले आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वतःस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

विभागले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण गर्दै नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार रहेको र तथ्याङ्क मुलुक बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित हुने पनि जनाएको छ ।

सरकारले असोज १ गतेबाट अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने सूचना जारी गरेपछि त्यसलाई लिएर विभिन्न क्षेत्रबाट आशंकासहित आलोचना सुरु भएको थियो ।

खासगरी इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राखिएको भन्दै चर्को विरोध भइरहेको छ र यो देवनागरी लिपिमा हुनुपर्ने माग उठिरहेको छ । कमिसनका लागि मात्र होइन, नागरिकको डाटा नै असुरक्षित हुने गरी सरकार इम्बोस्ड नम्बर अंग्रेजी बनाउन लागिपरेको आरोप लागेको छ ।

सवारीधनीहरूले शुल्क महँगो भएको भन्दै आलोचना गरेका छन् । यसमा लाग्ने शुल्क भने सवारीसाधनअनुसार विभाजन गर्दै दुईपांग्रेका लागि २ हजार ५ सय, हलुका चार पांग्रेका लागि ३ हजार २ सय र भारी सवारीका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

Adv footer