२०८२ भदौ १६ सोमबार
Jhapa Today
Adv top

अपराधको अखडा बन्दै बिर्तामोडको होटल किंग्सबेरी


बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किंग्सबेरीमा आपराधिक गतिविधि भइरहेको पाइएको छ । यस विषयमा प्रहरी प्रशासन मौन छ । मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ ।

होटल किंग्सवरीले नेपाल प्रहरीका उच्च अधिकारीलाई पनि प्रलोभनमा पारेको स्रोतको दाबी छ । होटलभित्र विभिन्न अपराध र गुन्डागर्दी गर्ने क्रम बढ्दै गए पनि कारबाही भने हुन सकेको छैन ।

होटल किंग्सबेरी मात्र होइन झापाको बिर्तामोडमा सञ्चालित साना होटल र डान्सबारबाट समेत प्रहरीले रकम असुल्दै आएको छ । स्रोतका अनुसार घुमुवाको प्रयोग गर्दै प्रहरीले होटल र डान्सबारबाट खुलेआम रुपमा रकम असुल्दै आएको हो ।

होटल परिसरभित्रै एकजना पुरुष बाउन्सरले अमेरिकी नागरिकता भएकी नेपालीभाषी महिलालाई निर्घात कुटेका छन् । अमेरिकाबाट आफन्त भेट्न आएकी विनिता न्यौपानेमाथि आइतबार राति होटल किंग्सबेरीमा बाउन्सरले कुटपिट गरेका हुन् ।

होटल किंग्सवरीमा कोठा लिएर बसेकी बिनितालाई उनकी भान्जी अञ्जली कार्की भेट्न आएकी थिइन् । तर, बाउन्सरले अञ्जलीलाई होटलमा प्रवेश गर्न दिएनन् । त्यसपछि विनिता होटलको गेटतर्फ गएर आफ्नो पाहुना हो भन्दै जानकारी गराउँदा विवाद बढ्दै गएर बाउन्सरले विनितालाई गालामा चड्कन हानेका हुन् । पिटाइबाट घाइते विनितालाई उपचार गर्न अस्पताल लगिएको थियो ।

आइतबार रातिको सो घटनाबारे जानकारी गराउँदा होटल प्रशासनले वास्ता गरेन । जब विनिताले नेपालस्थित अमेरिकी दूतावासलाई जानकारी गराउँदै इलाका प्रहरी कार्यालय बिर्तामोड पुगिन्, अनि मात्र सो घटनाबारे होटल प्रशासनले चासो लियो । सोमबार नै विनिताले इलाका प्रहरी कार्यालयमा ठाडो निवेदन दिएकी छन् ।

दिप साउदेनसहितले सञ्चालन गरेको त्रिशूल बाउन्सर एन्ड सेक्युरिटी सर्भिसले त्यहाँस्थित सेभेन हर्सेज क्यासिनो हेर्ने काम गर्छ । त्यस्तै, पूर्वडिआइजी संलग्न रहेको अर्काे बाउन्सर कम्पनीले प्रवेशद्वारसहितमा सेक्युरिटीको काम गर्दै आएको छ ।

होटल किंग्सबेरीमा विभिन्न अपराधसँगै अपराधी लुक्ने थलोसमेत बनेको छ । गत भदौ १ गते बिर्तामोडमा एक महिलालाई ठक्कर दिएर एक भारतीय कार चालक किंग्सबेरीमा लुकेर बसेका थिए ।

डब्ल्युबी ७६ बि ३९०८ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१६ प ६१०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बिर्तामोड १ की ३७ वर्षीया उमा अधिकारी घाइते भएकी थिइन् ।

ठक्कर दिएर फरार भएको कार र चालकलाई खोजी गर्ने क्रममा सो कार किङ्सबेरी होटलको कम्पाउन्डमा फेला परेको थियो । कार र कार चालक भारत बागडुग्रा बस्ने ४३ वर्षीय पवन सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

झापाका पाँचतारे होटलहरुमा जुवा खेल्न भन्दै गाडीमा आउने भारतीयहरुलाई सीमामा जाँच नगरिँदा उनीहरुले लागुऔषध ओसारपसार गरिरहेको आशंकासमेत गरिएको छ । त्यहाँबाट सप्लाईको काम समेत हुँदै आएको छ । प्रहरीकै सेटिङमा लागुऔषधजन्य वस्तु पश्चिम नेपालसहित काठमाडौँसम्म पुग्ने गरेको छ ।

क्यासिनोमा जुवा खेलाउने गर्दा किङ्सबेरीमा पटकपटक लफडा हुँदै आएको छ । क्यासिनोमा जुवा खेल्न नेपाली गएको र बाउन्सरले ग्राहक कुटेको जस्ता घटना सुनेर धेरैपटक किङ्सबेरीमा जानु परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक पूर्वप्रहरी अधिकारीले बताए । उनका अनुसार स्थानीयहरु क्यासिनोमा हेर्न र खेल्न जान खोज्ने तर बाउन्सरले नदिने गर्दा धेरैपटक विवाद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख भएर आउँदै गर्दा प्रहरी उपरीक्षक राजन लिम्बूले झापाका क्यासिनो र डान्सबारमा निगरानी बढाउने बताएका थिए । झापाको पाँचतारे होटल किंग्सबेरीमा सञ्चालन भइरहेको क्यासिनोमा अवैध तरिकाले नेपालीहरूलाई प्रवेश गराउने क्रम बढेर झापाका उद्योगी व्यापारीहरू आर्थिक संकटमा परेर आत्महत्या गर्नेसम्मका घटनाहरू हुन थालेपछि प्रहरीले निगरानी बढाउने बताएको थियो ।

लुटिँदै बिर्तामोडका व्यवसायी
झापा बिर्तामोडको होटल द किंग्सबेरीमा रहेको सेभेन हर्सेज क्यासोनाका कारण झापाका धेरै व्यवसायी टाट पल्टिएर पलायनसम्मको स्थितिमा पुगेका छन् भने कतिपयले आत्महत्यासम्म गरेका घटना बाहिरिएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय झापाले यस विषयमा कुनै चासो देखाएको छैन । बिर्तामोडका केही व्यवसायीले प्रमुख जिल्ला अधिकारीसम्मलाई ध्यानाकर्षण गराएका छन् । तर, जिल्ला प्रशासन कार्यालय समेत यो विषयमा सजग देखिँदैन ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले क्यासिनोका बारेमा पटकपटक ध्यानाकर्षण गराएका छन् । उनले पत्रकार सम्मेलनमा समेत सार्वजनिक रुपमै होटल किंग्सबेरीको क्यासिनोमा खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो खेलाएको भन्दै खबरदारी गर्न आग्रह गरेका थिए । त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका एक पूर्व पदाधिकारी समेत होटल किंग्सबेरीमा कुटिएका थिए । सो घटना समेत दबाइएको छ ।

Adv footer