बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एकजना बालक गम्भीर घाइते भएको प्रहीले जनाएको छ । घटना हिजो राति १० बजेको भएको प्रहरीको भनाइ छ ।

कान्तिपुर ड्राइभिङ सेन्टरअगाडि बसपार्कबाट राजमार्गतर्फ निस्किँदै गरेको मे. ८ प ३६६ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने अभिषेक राईका छोरा ३ वर्षीय अभिहाङ राईलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टाउकोमा चोट लागेका घाइते बालकको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक पाँचथर फालेलुङ गाउँपालिका ३ बस्ने २८ वर्षीय राजधन राईलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

बालक एक्लै थिए वा परिवारका सदस्यको साथमा थिए भन्ने प्रहरीले खुलाएको छैन । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
