बिर्तामोड, भदौ ११ । प्रहरीको विशेष टोलीले झापाको मेचीनगरबाट एक भारतीय नागरिक र अर्का एकजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । उनीहरु झापाबाट इलामतर्फ जाँदै गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको साथबाट एक सय ग्राम एक सय मिलिग्राम ब्राउनसुगर बरादम गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर ८ का ३२ वर्षीय अजय मेचे र भारत नक्सलबारीका ३० वर्षीय टान्टु भन्ने कनकन राह छन् ।

उनीहरुलाई मेचीनगर–८ गिरीगाउँमा इटाभट्टाबाट सलकपुरतर्फ जाँदै गर्दा मे. ११ प ४२३३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । मेचेले चलाएको मोटरसाइकलमा टान्टु पछाडि बसेका थिए ।

प्रहरीले उनीहरुमाथि शंका लागेर जाँच गर्दा टान्टुले हातमा बोकेको कालो रंगको प्लास्टिकको झोलामा एक सय ग्राम एक सय मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल र लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको झापा प्रहरीका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताए ।
