२०८२ भदौ १६ सोमबार
Jhapa Today
Adv top

अध्यक्ष ओलीलाई घेराबन्दी गरेपछि समिति विघटननजिक


बिर्तामोड, भदौ १३ । अध्यक्षमाथि चौतर्फी घेराबन्दीका कारण झापाको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समिति विघटनको संघारमा पुगेको छ । काठमाडौँबाहिरको सबैभन्दा ठुलो कारोबार गर्ने कृषिथोक बजार समितिको आन्तरिक द्वन्द्वका कारण विघटनको संघारमा पुगेको हो ।

डेढ वर्षअघि समितिको नयाँ निर्वाचन भएको थियो । निर्वाचनबाट बिर्तामोडका निरज ओली अध्यक्ष चयन भएका थिए । उनी अध्यक्षमा निर्वाचित हुनेबित्तिकै समितिका अन्य सदस्यले असहयोग गर्न थालेका हुन् ।

’अध्यक्षको कार्यशैली मन नपरेको’ भन्दै बजार मातहतका कर्मचारी र समितिका सदस्यले उनलाई निरन्तर घेराबन्दी गर्न थाले । जसको परिणाम बजार सञ्चालनको अपेक्षित गतिविधि ठप्प भयो ।

ओली निर्वाचित भएपछि २० पटक समितिको बैठक बसेको कार्यालयको रेकर्डमा उल्लेख छ । १० पटक समितिको बहुमतसहितको बैठक बसेको छ भने अध्यक्षले बोलाएको अरु १० वटा बैठकमा समितिका सदस्य उपस्थित भएनन् । उनीहरुले बैठक राख्न नसकेको अपजस अध्यक्षमाथि थोपर्न सामुहिक रुपमा बैठक बहिस्कार गरेका हुन् ।

यसअघिका अध्यक्ष कमल पौडेलको कार्यकालमा बजारमा नयाँ संरचना निर्माणको लागि डिपिआर गरिएको थियो । योजनाअनुसार ५ करोड ५० लाख रकम मन्त्रालयबाट विनियोजन भएको छ ।

तर, अध्यक्ष ओलीले मूल्यवान त्यो जमिनमा टहरा प्रकृतिको भवन निर्माण नगर्ने अडान राखेपछि भवन निर्माणमा अन्योल उत्पन्न भएको छ । ओलीले भनेजस्तो बहुतले भवन निर्माण गर्न स्रोत नपुग्ने समितिका अन्य सदस्यको ठहर छ ।

हरेक क्रियाकलापमा मत विभाजन भएपछि कृषि बजार व्यवस्थापन समिति बिर्तामोड भूमिकाविहीन भएको छ । विवादकै कारण चार बिघा क्षेत्रफलमा फैलिएको बजार निर्माणले गति लिन सकेको छैन ।

अध्यक्ष ओलीले बजारको आम्दानीलाई दुरुपयोग गर्ने गरेको, समितिका अन्य सदस्य तथा कर्मचारीसँग समन्वय गर्न नसकेको लगायतका आरोप लागेको छ ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि विभागले बजारको आर्थिक अपचलन गरेको, सार्वजनिक खरिद ऐनविपरीत कार्यालय सामग्री खरिद गरेको लगायतका अभियोग लगाउँदै स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ओलीले उपचारका क्रममा रहेको जवाफ पठाएको तथा स्वास्थ्यमा सुधार भएपछि जवाफ फर्काउने योजना रहेको बुझिएको छ ।

Adv footer