
बिर्तामोड, भदौ १३ । झापा धुलाबारीका प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत असई भुजेल ड्युटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारका क्रममा ९ः५५ बजे मृत्यु भएको हो । उनी झापा धुलाबारी निवासी हुन् ।

उनकी श्रीमती पनि असई रहेकी छन् । उनकी श्रीमती प्रहरी सहायक निरीक्षक विनिता शेर्पा इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत रहेकी छन् ।

उनलाई हृदयघात भएको हुन सक्ने चिकित्सकले बताएका छन् । शवको पोस्टमार्टम गरिएको बताइएको छ ।
