
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड सञ्जीवनी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्ष नै नाफामा गएको छ । कम्पनीले स्थापना भएको पहिलो वर्षमै १७ लाख ५ हजार ६५७ रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले शुक्रबार बिर्तामोडमा प्रथम साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै कारोबारको जानकारी गराएको छ । बिर्तामोड सञ्जीवनीले २०८१ असोज २२ गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत लिएको थियो ।

कारोबारको करिब ७ महिनाको अवधिमा सो नाफा कमाउन सफल भएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए । ११४ जना शेयर सदस्यहरुबाट ५ करोड २८ लाख चुक्ता पुँजी संकलन गरी सुरू भएको कम्पनीमा हाल १७८ जना सदस्य पुगेको अध्यक्ष चुडालले बताए ।

पछिल्लो समय अन्य मानिसहरू सदस्य बन्न लालायित रहेको अध्यक्ष चुडालको भनाइ छ । अध्यक्ष चुडालका अनुसार चालु आर्थिक वर्षमा कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख पुर्याउने उद्देश्य रहेको छ । कम्पनीको अधिकृत पुँजी २० करोड रहेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवम अन्य मुनाफामुलक क्षेत्रमा लगानी गर्ने जनाइएको छ ।

त्यस्तै, जग्गा, हाउजिङ परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवम विकासका परियोजना लगायतमा लगानी गर्नेछ ।