
बिर्तामोड, भदौ १४ । नेपाल अलैँची व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि दुईजना उम्मेदवारबीच सहमति भएको बताइएको छ । आज र भोलि हुने चुनावमा अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका थिए ।

दुईजना व्यवसायी बिर्तामोडका हुन् भने एकजना फिदिमका व्यवसायी हुन् । व्यवसायीहरुका अनुसार अध्यक्ष पदका आकांक्षी बिर्तामोडका नारायण चिमरिया र फिदिमका दिपक नेपालबीच सहमति भएको हो ।

महासंघको पाँचौँ अधिवेशनमा नेपाललाई अध्यक्षको रुपमा अघि बढाउने र छैटौँ अधिवेशनमा चिमरियालाई अध्यक्ष बनाउनेगरी सहमति भएको हो । दुईजनाबीच सहमति भएपछि अर्का प्रतिस्पर्धी बिर्तामोडका ओमकृष्ण बिमली पनि पछि हट्ने आँकलन गरिएको हो ।

तर, बिमली चुनावी प्रतिस्पर्धामै जाने योजनामा रहेको बताइएको छ । यसो हुँदा अब नेपाल र बिमलीबीच निर्वाचन हुनसक्ने व्यवसायीहरुले बताएका छन् । महासंघका देशभरिबाट २३० जना प्रतिनिधि रहेका छन् ।

चिमरिया हाल महासंघको महासचिव छन् । बिमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए । उनी गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी समेत हुन् । व्यवसायी नेपाल भने महासंघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यवसायी हुन् ।

४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोड र १६ जिल्लामा शाखा रहेको छ । अधिवेशनमा २३० जना प्रतिनिधि रहने वैधानिक व्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् ।
२१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष एकजना, कृषि तथा वाणिज्य उपाध्यक्ष र महिला उपाध्यक्ष एकएकजना, महासचिव र सचिव रहने प्रावधान छ ।