
बिर्तामोड, भदौ १४ । नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिपक नेपाल निर्वाचित भएका छन् । महासंघको पाँचौँ महाधिवेशनले पाँचथर फिदिमका व्यवसायी नेपाललाई सर्वसम्मत निर्वाचित गरेको हो ।

झापाको बिर्तामोडमा आज भएको महाधिवेशनमा नेपाल सशक्त दाबेदार थिए । उनलाई निर्वाचन भए पनि बहुमत सदस्यले रुचाएका कारण मतदान गर्ने विश्वास गरिएको थियो । नेपाल महासंघको संस्थापक द्वितीय उपाध्यक्ष तथा पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।

त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया सर्वसम्मत निर्वाचित भएका छन् । उनी वर्तमान महासचिव हुन् । उपाध्यक्षमा मातृका घिमिरे र सुजित वंशल तथा महिला उपाध्यक्षमा कुसुम दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा प्रज्ज्वल बिमली सर्वसम्मत निर्वचित भएका छन् । सचिवमा सञ्जीव घिमिरे र प्रेमकुमार राई तथा कोषाध्यक्षमा रामकृष्ण विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत रोहित काफ्लेले जानकारी दिए ।

४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोडमा र १६ जिल्लामा शाखा रहेको छ । अधिवेशनमा २३१ जना प्रतिनिधि रहने वैधानिक व्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँचजनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् ।

२१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष एकजना, कृषि तथा वाणिज्य उपाध्यक्ष र महिला उपाध्यक्ष एकएकजना, महासचिव, सचिव दुईजना र कोषाध्यक्ष रहने प्रावधान छ । समितिमा कम्तिमा छजना महिला सदस्य हुनुपर्नेछ ।