
बिर्तामोड, भदौ १६ । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए ।

गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् ।

दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन संस्थापक सदस्यता योजना ल्याइएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।

नेपालमै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपालका तीन विभागीयसहित छवटा तथा भारत र भुटानका एकएक टिमको सहभागिता रहने अध्यक्ष थोप्राले बताए ।

करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि शिवसताक्षी नगपालिका र वडा कार्यालयहरुले ३० लाख रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।