२०८२ भदौ १८ बुधबार
Jhapa Today
Adv top

सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका झापाका बेस्राको यस्तो छ पृष्ठभूमि


बिर्तामोड, भदौ १८ । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट अत्यन्त लोपोन्मुख सन्थाल जातिबाट जिल्ला न्यायाधीश नियुक्त भएको छ । सरकारी अधिकृत हुँदै झापाको झापा गाउँपालिकाका विश्वदिप बेस्रा सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन् ।

उनी सन्थाल समुदायबाट नेपालमा उच्च पदमा पुग्ने पहिलो नागरिक बनेका छन् । झापा-४ खयरबारीका ४१ वर्षीय विश्वदिप शिक्षित परिवारमा हुर्किएका थिए । उनका बुवा सुन्दर बेस्रा स्थानीय जगदम्बा प्राविका शिक्षिक थिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवमा कार्यरत बेस्रालाई प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले रिक्त रौतहट जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

बेस्राले २०७२ मा खुला प्रतिस्पर्धाबाटै लोकसेवाको पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकालेका थिए । आदिवासी जनजातिका लागि आरक्षणको व्यवस्था भए पनि उनले खुलाबाटै भिड्ने निधो गरेका थिए । २०७७ मा उनी उपसचिव भएका हुन् । न्याय सेवा आयोगले उनलाई कार्य मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेको हो ।

उनले २०५६ सालमा डिल्लीराज माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । सुरुमा मेची बहुमुखी क्याम्पसमा आएससी पढेर समय बर्बाद पारेका उनले पछि त्रिचन्द्रबाट आइएससी उत्तीर्ण गरे र केही समय निजी स्कुलमा पढाए ।

अखबारमा छापिएको विज्ञापनमार्फत उनी काठमाडौँ स्कुल अफ लमा पूर्ण छात्रवृत्तिमा कानुनमा स्नातक गरे । त्यहाँ पाँच वर्ष लगाएर एलएलबी उत्तीर्ण गरे, प्रथम श्रेणीमा । त्यसपछि अमेरिकी दूतावासमा करिब ९ महिना जति ‘इन्टर्नसिप’ पनि गरे ।

उनको पहिलो पोस्टिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको थियो । त्यहाँको कानुन तथा फैसला कार्यान्वयन शाखामा करिब दुई वर्ष काम गरेपछि त्यहीँको मानवअधिकार तथा अन्तर्राष्ट्रिय महाशाखामा उनको सरुवा भयो । करिब ५ वर्ष काम गरेपछि २०७७ मा उपसचिवमा बढुवा भएको हो ।

Adv footer